कांग्रेस पदाधिकारी बैठक बस्दै, सदस्यता विवाद मुख्य एजेन्डा

होमल्याण्ड खबर

२०७८ श्रावण ८ गते, शुक्रबार ०८:२७ मा प्रकाशित

नेपाली कांग्रेस पदाधिकारी बैठक आज बस्दै छ । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा विहान ९ बजे बस्ने बैठकमा वर्तमान र पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरुलाई आमन्त्रण गरिएको छ ।

बैठकमा पार्टीको १४औँ महाधिवेशन, कार्यतालिका संशोधन, निर्वाचन निर्देशिका, क्रियाशील सदस्यता विवाद तथा सरकारमा पठाउने मन्त्रीहरुका विषयमा छलफल हुने बताइएको छ । यी मध्ये पनि क्रियाशील सदस्यतामाथिको विवाद समाधान गर्ने आजको मुख्य एजेन्डा रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टीको आन्तरिक बैठक सरकारी निवास बालुवाटारमा नराख्न नेताहरूले दिएको सुझाव बमोजिम सभापति देउवाले आजको बैठक निजी निवासमा बोलाएका हुन् ।

पार्टी कार्यालय सानेपामा प्रदेश २ का बारा, सर्लाही र सप्तरीका नेता तथा कार्यकर्ता क्रियाशील सदस्यताको विषयलाई लिएर धर्नामा बसेका कारण बैठक बुढानिलकण्ठमा राखिएको हो ।

पार्टी कार्यालयमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुवै समूका कार्यकर्ता छुट्टाछुट्टै धर्नामा रहेका छ ।

नेता कार्यकर्ता विगत १३ दिनदेखि पार्टी कार्यालयमा धर्नामा रहे पनि समस्या समाधानका लागि संस्थापन पक्षले कुनै चासो देखाएको छैन ।