डा. केसी बचाउन अन्तराष्ट्रिय समुदायको चासो

होमल्याण्ड खबर

२०७५ असार २९ गते, शुक्रबार १०:०२ मा प्रकाशित

संयुक्त राष्ट्रसंघसमक्ष अपिल गरिने

नेपालको चिकित्सा शिक्षाको क्षेत्रमा सुधारको माग गर्दै १५ औं आमरण अनशनमा बसेका डा.गोविन्द केसीको जीवन रक्षाका लागि अन्तराष्ट्रिय समुदायको चासो देखिएको छ । अमेरिका र बेलायतलगायतका देशहरुबाट केसीको जीवन बचाउने पहलका लागि संयुक्त राष्ट्र संघीय मानवअधिकार आयोगसमक्ष अपिल गर्दै ‘चेन्ज डट ओआरजी’मार्फत् हस्ताक्षर संकलन अभियान थालिएको हो ।

बोस्टनस्थित सामाजिक अभियन्ता एवं स्रष्टा शिवप्रकाशले डा.केसीको प्राण रक्षा गर्न संयुक्त राष्ट्र संघीय मानवअधिकार आयोगसमक्ष अपिल गरिएको जानकारी दिए । शिवप्रकाशले बुधबार चेन्ज डट ओआरजीमा अपिल तयार गरि फेसबुक, ट्वीटर जस्ता सामाजिक संजालमार्फ्त सबैसँग डा.केसीको जीवन बचाउने अभियानमा साथ दिन आह्वान गरेका छन् ।

डा. केसीको स्वास्थ्य अवस्था नाजुक हुदै गएका कारण जीवन रक्षाका लागि जतिसक्दो छिटो र धेरै मात्रामा हस्ताक्षर संलकन गर्न उनले ‘चेन्ज डट ओआरजी’मार्फत् यो अभियान थालेको जनाएका छन् । बेलैमा आयोगसमक्ष अपिलको सुनुवाईका लागि एक लाख हस्ताक्षर पुर्याउनु आवश्यक रहेको उनले औंल्याए । उनले डा.केसीको जीवन रक्षाका लागि उच्चस्तरबाट पहल हुन सक्ने देखेर आफुले यो अभियान थालेको बताए ।

चिकित्सा शिक्षाको क्षेत्रमा व्यापक सुधार गर्न बनेको अध्यादेश बिना संशोधन विधेयकका रुपमा ल्याउन माग गर्दै डा.केसी १५ औं पटक फेरि अनसन बसेका छन् । नेपालको विकट हिमाली जिल्ला जुम्लामा विगत १४ दिनदेखि आमरण अनसनमा रहेका उनको स्वास्थ्य अवस्था दिनदिनै गम्भीर बन्दै गइरहेको छ ।

केसीले चिकित्सा शिक्षा अध्यादेशकै हुबहु विधेयक ल्याउनुपर्ने मुख्य माग राखेका छन् । सरकारले भने त्यसको मुख्य बुंदा नै हटाएर संशोधित विधेयक ल्याउन खोजेपछि केसी अनसन बसेका हुन् । जनताका डाक्टर तथा मानवताका पुजारी डा.गोविन्द केसीको प्राण रक्षाका लागि संयुक्त राष्ट संघ तथा राष्टसंघीय मानवअधिकार आयोगसमक्ष अपिल गरिएको छ ।
यसका लागि निम्न लिंकमा गई हस्ताक्षर गर्न उनले आव्हान गरेका छन् ।

 

सबैको हितका लागि पटकपटक राज्यसँग लड्दै आएका डा.केसीको जीवन रक्षाका लागि उनका जायज माग पुरा गर्न सरकार तयार नभएपछि स्थिति जटिल बन्दै गएको छ । सरकारले उचित माग सम्बोधन नगर्ने र कुनै व्यक्तिको अनशनकै भरमा आफ्नो निर्णयमा पछि नहट्ने अभिव्यक्ति दिएपछि जुम्लाको चिसोमा अनसनरत डा.केसीको स्वास्थ्य अवस्था नाजुक बनेको विवरण आउन थालेका छन् ।

‘चेन्ज डट ओआरजी’को मुख्य काम यसमार्फत् बढीभन्दा बढी हस्ताक्षर संकलन गरि सम्बन्धित निकायसम्म अपिल पुर्याउने भएको उनले बताए । यस्तो अभियानले यस विषयमा अन्तर्रा्ष्ट्रिय दबाब सृजना गर्न बाध्य बनाउने गर्छ । यो साइटलाई मानवअधिकारसम्बन्धी विश्वव्यापी संस्था एम्नेस्टि इन्टरनेशनल र ह्यूमन राइट्स सोसाइटीले मुद्दाका रुपमा प्रवद्र्धन गर्ने गर्दछन् । यस साइटमार्फत् विगतमा अपिल गरिएका चर्चित विषयहरु आर्थिक र न्यायिक, मानवअधिकार, शिक्षा, वातावरण संरक्षण, पशुअधिकार, स्वास्थ र दिगो खाद्य लगायत छन् ।