पार्टी एकताको पक्षमा उभिएको हुँ, प्रचण्डले भनेझैं ढलेको छैनः भीम रावल

होमल्याण्ड खबर

२०७८ श्रावण १० गते, आईतवार १२:३६ मा प्रकाशित

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफ्नो राजीनामाका विषयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । आज सामाजिक सञ्जालमार्फत नेता रावलले  प्रचण्डले शनिबार एक कार्यक्रममा आफ्नो राजीनामाका विषयमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएर आफ  स्वच्छ राजनीति र पार्टी एकताको पक्षमा उभिएको दाबी गर्दै नेता रावलले प्रचण्डले भनेझैं आफू नढलेको स्पष्ट पारे ।

रावलले अध्यक्ष प्रचण्डले शनिबार एक कार्यक्रममा आफ्नो राजीनामालाई  पाँच दलको गठबन्धन फुटाउने खेल भनेको भन्दै आपत्ति जनाएका हुन् । उनले प्रचण्डको उक्त भनाइ ‘हास्यास्पद र मनगढन्ते भएको उल्लेख गरेका छन् ।

प्रचण्डले शनिबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको आठौं स्मृति दिवस कार्यक्रममाअमेरिकी सैन्य रणनीति इन्डो प्यासिफिक स्ट्राटेजी र अर्को परियोजना मिलेनियम च्यालेन्ज को(अर्पोरेशन (एमसिसी) को बहानामा सत्तारुढ गठबन्धन फुटाउने योजना भइरहेको बताएका थिए । साथै उनले कांग्रेस–कम्युनिष्ट गठबन्धनलाई विचार नमिल्ने भन्दै फुटाउने खेल भइरहेको दाबी गरेका थिए ।