२९ फाल्गुन २०८२, शुक्रबार
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को पार्टी आधिकारिकता विवाद आज टुंग्याउने तयारी गरेको छ ।
विवाद समाधानका लागि आयोगले आज विहान ११ बजे जसपा अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर दुवै पक्षलाई आयोगमा बोलाएको छ ।


राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणको आधारमा कुनै पक्षलाई मान्यता दिने अवस्था नरहे केन्द्रीय समितिमा बहुमत रहेको पक्षलाई दलको आधिकारिकता दिने प्रावधान छ ।
५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति रहेको जसपामा उपेन्द्र पक्षले आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै आएको छ । ठाकुर पक्षले पनि जसपा आफूहरूको हुनुपर्ने बताइरहेको छ ।
यादव समूहले ५१ मध्ये ३१ जना सदस्यलाई हिजो नै प्रशिक्षण दिने भन्दै गोदावरी रिसोर्टमा लगेर राखेको छ । उनीहरु आज सिधै निर्वाचन आयोग जाने छन् । यस्तै ३२ सांसद रहेको जसपामा २१ सांसद यादव समूहमा खुलेका छन् ।
अध्यक्ष ठाकुरले आयोगले केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई बोलाएकोमा त्यसविरूद्ध सर्वोच्चमा रिट दिएका थिए । तर सर्वोच्चले ठाकुरको मागबमोजिम अन्तरिम आदेश नदिए पछि ठाकुर पक्ष तनावमा रहेको छ ।
आयोगले बहुमत पुग्ने समूहलाई दलको आधिकारिकता दिने छ भने अल्पमतमा परेको समूहलाई पार्टीको नयाँ नाम र चुनाव चिह्नसहित आउन समय दिने छ ।