एक वर्षमै फुटको अवस्था आउनु दुःखद् : राजेन्द्र महतो

होमल्याण्ड खबर

२०७८ श्रावण ११ गते, सोमबार १५:४८ मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी एकता गरेको एक वर्षमा नै फुटको अवस्था आउनु दुःखद् भएको बताएका छन् । आधिकारिकता विवादमा सुनुवाई गरिरहेको निर्वाचन आयोगमा सनाखतका लागि पुगेका महतोले भने, ‘यो प्रयोजनका लागि उपेन्द्रजीको पार्टी बचाइदिएको थिएन ।

शोषण उत्पीडनमा परेका जनतालाई अधिकार दिन पार्टी एकता गरेका थियौं ।’ उपेन्द्र यादवको पार्टी संकटमा पर्दा आफूहरुले सहयोग गरेको, तर अहिले प्राविधिक कारण देखाएर पार्टी फुटाउन खोजेको उनको आरोप छ । महतो निकट केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरु समेत उपेन्द्र यादवतिर लागेका छन् ।

महतोले पद जोगाउन गएको बताए । उनले भने, ‘पद रक्षा गर्नुपर्ने मजबुरी होला । तर जुन मजबुरीका कारण यताउता गरेको छ, त्यो आज हो, भोलि रहँदैन ।’