कांग्रेसको पदाधिकारी बैठक आज पनि, महाधिवेशनको अन्योल टुङ्गिएला ?

होमल्याण्ड खबर

२०७८ श्रावण १४ गते, बिहीबार १०:४२ मा प्रकाशित

नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक आज पनि बस्दै छ । बुढानिलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो २ बजे बस्ने बैठकमा आसन्न १४औं महाधिवेशनबारे आवश्यक निर्णय लिने कांग्रेसले जनाएको छ । आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने भनिएको १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि त्यसको संशोधनका लागि कांग्रेसमा छलफल चलिरहेको छ ।

साउन ८ गतेयता जारी पदाधिकारी बैठकमा महाधिवेशन सम्पन्न गर्ने तरिका र विकल्पबारे छलफल भइरहेको छ । यद्धपी निष्कर्ष भने निसिकएको छैन । क्रियाशील सदस्यता विवाद र कोरोना महामारीलाई दृष्टिगत गरी नयाँ कार्यतालिका ल्याइने सहमहामन्त्री प्रकाशशरण महतले बताए । उनले तल्लो तहका अधिवेशनको कार्यतालिका हेरफेर भएपनि महाधिवेशन भने निर्धारित मितिमै गर्ने गरी निर्णयमा पुग्ने बताए । निर्वाचन समितिले निर्धारित मितिमा महाधिवेशन गराउन नसकिने बताएपनि सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल मान्न तयार छैनन् । उनीहरु दुबै जनाले निर्धारित मितिमै महाधिवेशन हुने पर्ने बताउँदै आएका छन् ।

महाधिवेशनका लागि भोटर क्रियाशील सदस्यता सम्वन्धी विवाद नै कांग्रेसले टुङ्ग्याउन सकेको छैन । क्रियाशील सदइता छानविन समितिले अस्ती मंगलबार अपूर्ण प्रतिवेदन नै नेतृत्वलाई बुझाएको थियो । नेता रमेश लेखक नेतृत्वको समितिले बुझाएको प्रतिवेदनमाथि बुधबार छलफल गरी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले विवाद मिलाएर प्रतिवेदन पूरा गर्न समितिलाई एक दिनको समय दिएको थियो । समितिले पाएको समयावधी आज सकिंदै छ ।