२९ फाल्गुन २०८२, शुक्रबार
प्रधानमन्त्री शेरबहादुर देउवा चौतर्फी दबाबमा छन् । एकातिर २४ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् भने अर्कातिर नेपाली कांग्रेसको चौधौं महाधिवेशन तोकेको समयमै गर्नुपर्ने बाध्यतामा छन् । बहुचर्तित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित नगरी नहुने चुनौती त छँदै छ ।
अहिले देउवासँग ६ सदस्यीय मन्त्रिपरिषद् मात्र छ प्रधानमन्त्री देउवाको मातहत १७ वटा मन्त्रालय छन् । प्रधानमन्त्रीको व्यस्तता कारण सचिवले समेत भेट्न पाएका छैनन् । मन्त्रिपरिषद् विस्तार कहिलेसम्म हुने होे, टुंगो छैन । खासमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्मा माधव नेपाल पक्षलाई जसरी पनि ल्याउनुपर्ने दबाब दिइरहेका छन् । माधव नेपाल पक्ष केपी ओली पक्षसँग एकता गर्ने कि देउवा सरकारमा जाने भन्ने दोधारमा छ ।


यतिमात्र होइन, क्रियाशील सदस्यता छानबिन समितिले समयमै काम टुंग्याउन नसक्दा वडा अधिवेशन तोकिएको मितिमा हुन नसकेकाले कांग्रेस महाधिवेशन अन्योलमा छ । यतिबेला रामचन्द्र पौडेल समूह विशेष महाधिवेशनको दबाब सिर्जना गरिरहेको छ ।
गृहमन्त्री बालकृष्ण खाँड भने देउवा दबाबमा नभई सन्तुलित भूमिकामा रहेको दाबी गर्छन् । पाँचौं पटक प्रधानमन्त्री बनेका देउवाको कार्यशैली फेरिएको छ । पछिल्लो समय देउवा मन्त्रिपरिषद्मा सबैको कुरा सुन्छन् । विवादास्पद निर्णय गर्न चाहँदैनन् । फुकीफुकी कदम चाल्न चाहन्छन् ।
स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठको नियुक्तिले केही विवाद सिर्जना गरे पनि त्यसले ठूलो आकार ग्रहण गर्न पाएन । महामारीका बेला राज्यमन्त्री श्रेष्ठको सुरुआती ‘पफर्मेन्स’ राम्रो देखिएको छ । चैतसम्म ५ करोड २२ लाख डोज खोप आउने घोषणाले राज्यमन्त्री श्रेष्ठले स्याबासी पाइरहेका छन् ।