महाधिवेशन प्रक्रिया शुरु नगरे आन्दोलन गर्ने कांग्रेस युवा नेताहरुको चेतावनी

होमल्याण्ड खबर

२०७८ श्रावण २१ गते, बिहीबार १७:०९ मा प्रकाशित

नेपाली कांग्रेसका केही युवा नेताले पार्टीको १४ औं महाधिवेशन सुनिश्चित नगरिए देशभर आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।

सबल कांग्रेस निर्माणका लागि युवा अभियानका नाममा कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत् सभापति शेरबहादुर देउवासमक्ष पठाइएको ध्यानाकर्षण पत्रमा उनीहरुले धर्ना, अनशनलगायतको कार्यक्रम गर्ने चेतावनी दिएका हुन् ।

मूलतः नेविसंघ र तरुण दलको विभिन्न भूमिकामा रहेका नेता रञ्जित कर्ण, मनोजमणि आचार्य, दीपक भट्टराई, विनोद कायस्थ, कुन्दन काफ्ले, क्षितिज भण्डारी, रीता खनाल, प्रतिमा गौतम, प्रमोदहरि गुरागाईं, डिल्लीराम सुवेदी, बिजुला बर्मासहितका ४२ युवाद्वारा हस्ताक्षरित ध्यनाकर्षण पत्रमा महाधिवेशन सुनिश्चित गर्न माग गरिएको छ ।

भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने भने पनि महाधिवेशन अनिश्चित बनेको भन्दै सभापति देउवालाई उनीहरुले तीन बुँदे ध्यानाकर्षण पत्र पठाएका हुन् ।

उनीहरुले बारा, सप्तरीलगायतमा क्रियाशील सदस्यता टुंग्याउन, विधानअनुसार वडा तहबाट नै सिफारिसका आधारमा क्रियाशील दिन, नेविसंघ, नेपाल तरूण दललगायत भ्रातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिन पनि माग गरेका छन् ।

महाधिवेशन समयसीमाको अन्तिम क्षण पुग्दा पनि क्रियाशील सदस्यताको छानबिन गरी अन्तिम रुप दिन नसक्नुले नेतृत्वको महाधिवेशनप्रतिको प्रतिवद्धता र नियतमाथि प्रश्न उठेको उनीहरुले भनेका छन् ।

विभिन्न राजनीतिक दलबाट नेपाली कांग्रेसमा समाहित हुने नेताहरुले पहिल्यैदेखि कांग्रेसकै समर्थक, सदस्य र शुभचिन्तक रहेका व्यक्तिलाई नै कागजी रुपमा नवप्रवेशी बनाई हजारौं क्रियाशील सदस्यता वितरण गरेको आरोप पनि उनीहरुले लगाएका छन् ।