एमाले अध्यक्ष केपी ओली ट्रस्टको नाममा रहेको ६९ रोपनी १० आना जग्गा जफत

होमल्याण्ड खबर

२०७८ श्रावण २७ गते, बुधबार ०९:२७ मा प्रकाशित

शेरबहादुर देउवा नेतृत्व सरकारले केपी शर्मा ओली ट्रष्ट्रको नाममा रहेको ६९ रोपनी १० आना १ पैसा जग्गा सरकारको स्वामित्वमा ल्याउने निर्णय गरेको छ।

केपी शर्मा ओली ट्रष्ट्रको नाममा हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको पाइएकोले हदबन्दीभन्दा बढी देखिएको जग्गा सरकारको नाममा ल्याउने निर्णय गरिएको भूमि व्यवस्था मन्त्रालयले जनाएको छ। २०७८ असार २१ को निर्णयबाट ६९ रोपनी १० आना १ पैसा जग्गा सरकारको नाममा ल्याउने निर्णय गरिएको हो।

पद्मा अर्याल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मन्त्री हुँदा उक्त निर्णय गरिएको मन्त्रालयले जनाएको छ। नेपालको कानुन अनुसार पहाडमा ७५ रोपनीभन्दा बढी जग्गा आफ्नो स्वामित्वमा खरिद गर्न पाइन्न। तर, उद्योग तथा प्रतिष्ठानहरूले आवश्यक कारण देखाएमा हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न पाउँछन्। तर त्यसको लागि मन्त्रिपरिष्द्वारा निर्णय गराउनु पर्छ।

ओली सरकारले भने मन्त्रिपरिषद्बारा निर्णय नगराएरै केपी शर्मा ओली ट्रष्ट्रको नाममा हदबन्दीभन्दा बढी जग्गा राखेको थियो। मन्त्रिपरिषद्को निर्णय विना उक्त ट्रस्टले आफ्नो नाममा १ सय ४३ रोपनी १४ आना १ पैसा जग्गा खरिद गरेको थियो।

हदबन्दीभन्दा बढी जग्गा सरकारले आफ्नो स्वामित्वमा ल्याएपछि ओली ट्रष्ट्रको नाममा अब करिब ७४ रोपनी मात्र जग्गा रहेको छ।