लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्धको रिटमा सुनवाइ हुदैँ

होमल्याण्ड खबर

२०७८ श्रावण २७ गते, बुधबार १२:३७ मा प्रकाशित

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध  सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि आज सुनवाइ हुँदैछ । अदालतका न्यायाधीश डा.आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ हुने भएको हो ।

लुम्बिनी प्रदेशका पूर्वमन्त्री समेत रहेका प्रदेशसभा सदस्य लिला गिरीले सोमबार दायर गरेको रिट निवेदन आज न्यायाधीश भट्टराईको एकल इजलासमा पेसी तोकिएको छ । हिजो  ‘हेर्न नभ्याइने’ सूचीमा मा राखिएको उक्त रिट आज आठौं नम्बरमा राखिएको छ ।

प्रदेशसभाको विशेष अधिवेशन आज दिउँसो १ बजे बस्दैछ । प्रदेशसभा बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ।

प्रदेशसभा सदस्य गिरीले रिटमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव ल्याउन निमिल्ने जिकिर गरेका छन् । उनले संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त दलको नेताका रूपमा पोखरेल मुख्यमन्त्री नियुक्त भएकोले दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाइने तर्क गरेका छन्।