शंकरको राजीनामापछि विपक्षीको प्रतिक्रिया– बचेखुचेको लाज बचाउनुभयो

होमल्याण्ड खबर

२०७८ श्रावण २७ गते, बुधबार १४:२७ मा प्रकाशित

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा सकारात्मक भएको विपक्षी गठबन्धनले बताएको छ । विपक्षी गठबन्धनले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएसँगै यसबारे आजको प्रदेशसभा बैठकमा छलफल हुने कार्यसूची तय भएपछि अन्तिम समयमा पोखरेलले प्रदेश प्रमुखसमक्ष राजीनामा दिएका थिए ।

प्रदेशसभा बैठकमा विपक्षी गठबन्धनका सांसद वीरेन्द्र कुमार कनौडियाले मुख्यमन्त्रीको राजीनामाले उनको बचेखुचेको लाज जोगिएको प्रतिक्रिया दिए । ‘देर आयो दुरुस्त आयो, कमसेकम बचेखुचेको लाज उहाँले बचाउनुभयो’, कनौडियाले भने, ‘त्यसको लागि मुख्यमन्त्रीलाई धन्यवाद दिन चाहन्छु ।

यही कुरा उहाँले १०–२० दिन अघि गरिदिनु भएको भए उहाँको राजनीतिक हाइट धेरै माथि हुन्थ्यो ।’ उनले राजनीतिक व्यक्तित्वलाई पोखरेलले सत्ता जोगाउने नाममा धूमिल बनाएको पनि आरोप लगाए । पोखरेलले केपी ओलीपथ समातेको उनले आरोप लगाए ।