लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

होमल्याण्ड खबर

२०७८ श्रावण २८ गते, बिहीबार १६:११ मा प्रकाशित

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी (सोनाम) नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले  संविधानको धारा १६८ को २ अनुसार उनलाई आज मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री शंकर पोखरेलले हिजो पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ (२) को बहुमतको नयाँ सरकार गठनको लागि आज दिउँसो ३ बजेसम्मको समय दिएका थिए ।
उक्त समय अवधिमा मुख्यमन्त्रीमा केसीको मात्रै दाबी परेको थियो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको गठबन्धनले ४२ जना सांसदको हस्ताक्षर सहित केसीलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेका थिए ।

केसी रोल्पाको निर्वाचन क्षेत्र १ को ‘क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

मुख्यमन्त्री केसीले आजै अपरान्ह ४ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । उनले शपथ ग्रहण गरेलगत्तै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् । जसमा मुख्यमन्त्रीसहित ६ जना मन्त्री रहने छन् ।

लुम्बिनीमा कांग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।