२९ फाल्गुन २०८२, शुक्रबार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको विचारलाई आत्मसमीक्षासहित क्रान्तिकारी रुपान्तरण नगरे विसर्जन र विघटनको खतरा रहेको बताएका छन् । मंगलबार सहिद रामबृक्ष यादवको २७ औं स्मृति दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले शान्ति सम्झौता वा संघीय लोकतान्त्रिक गणतन्त्रपछि माओवादीको क्रान्तिकारी चरित्र र संस्कार उल्टो बनेको स्वीकार गरे ।
‘शान्ति सम्झौता वा संघीय लोकतान्त्रिक गणतन्त्रपछि हामी आफ्नै क्रान्तिकारी चरित्र र संस्कारमा (त्याग तपस्या र बलिदान गर्ने ) भावना त्यस्तो छैन । बरु उल्टो छ’ प्रचण्डको भनाइ छ । त्यस्तो आत्मसमीक्षा गर्दै संकल्प गरेर त्यस दिशामा जान सके अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनमा समेत योगदान हुने प्रचण्डको दावी छ । ‘देशको समग्र राजनीतिक नेतृत्व लिनलाई हामी आफैले आत्मसमीक्षा र नयाँ संकल्प गर्ने, नयाँ प्रतिबद्धता व्यक्त गर्नैपर्छ’ प्रचण्डले भने, ‘केन्द्रीय समितिमा जोड गर्न खोजेको पनि त्यहीँ हो, त्यसले नयाँ उर्जा पनि प्रदान गरेको छ ।


सिद्धान्त, निष्ठा र वर्गप्रति समर्पित पार्टी हो, यसको सिद्धान्त अरूसँग मिल्दैन ।’ प्रचण्डले कम्युनिस्ट आन्दोलनभित्र एउटा प्रवृत्ति चरम निरंकुशतावादी, फाँसीवादी र आत्मसमर्पणवादी देखिएकाले त्यसविरुद्ध आन्दोलन गर्नुपरेको स्मरण पनि गरे । ‘क्रान्तिकारीहरुले संकल्प गरेपछि हुँदोरहेछ भन्ने अहिलेको उदाहरण हो । प्रतिगमन सच्चिएको छ । तर अन्तिम विजय होइन । लामो छ यात्रा र लडाई’ प्रचण्डको भनाइ छ ।