एमाले फुटाएपछि माधव नेपाल पहिलो पटक बालुवाटारमा

होमल्याण्ड खबर

२०७८ भाद्र ३ गते, बिहीबार १०:३९ मा प्रकाशित

नेकपा एमाले फुटाएपछि नेता माधव नेपाल पहिलो पटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।अहिले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा , माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एमाले समाजवादी दर्ता गराउन निर्वाचन आयोगमा निवेदन दिएका बरिष्ठ नेता माधव कुमार नेपालबीच छलफल सुरु भएको हो । बालुवाटार स्रोतका अनुसार छलफल भर्खर शुरु भएको छ ।

नेता नेपाल देउवा प्रधानमन्त्री भएपछि आज दोस्रो पटक बालुवाटार पुगेका हुन् । यस अगाडी पनि सत्ता गठबन्धन दलको छलफलका लागि उनी वालुवाटार गएका थिए । अब नेपाल पक्ष पनि सरकारमा सहभागी हुने भएको छ । नेपाल समुहको सहभागिताकै विषयलाई लिएर लामो समयसम्म पनि देउवाले सरकार विस्तार गर्न सकिरहेका थिएनन । अहिले एक राज्यमन्त्री सहित ६ सदस्यीय मन्त्रिपरिषद् छ ।

मन्त्रीपरिषद् विस्तार गर्न नसकेको भनी आलोचना खेपीरहेको देउवाले अब भने मन्त्रीपरिषद् विस्तार गर्ने योजना बनाएका छन् । एमालेको विभाजनपछि नेपाल सहितको यो गठबन्धनले अब सत्ता सहयात्राका विषयमा केन्द्रीत रहेर छलफल हुने गरी बालुवाटार छलफल शुरु भएको हो ।