२९ फाल्गुन २०८२, शुक्रबार
नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आसन्न महाधिवेशनमा संस्थापन इतर समूहबाट साझा उम्मेदवार उठाउने बारेमा छलफल गरेको छ । आज बत्तिसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा भएको छलफलमा पार्टीमा विवादित क्रियाशील सदस्यता टुंगो लगाउने विषयमा छलफल भएको कांग्रेसका वरिष्ठ नेता पौडेलले बताए ।
छलफलमा संस्थापन इतर समूहका नेताहरू पौडेल शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला, अर्जुननरसिंह केसी, बलबहादुर केसी, मीनेन्द्र रिजाललगायतका नेताहरू सहभागी भएका थिए । पौडेलले भने, ‘क्रियाशील सदस्यतामा धाँधली भइरहेको छ । त्यही समस्या समाधानको विषयमा छलफल गर्न भेला भएका थियौँ ।’


विधि, पद्धतिअनुसार क्रियाशील सदस्यता वितरण र नवीकरण हुनुपर्नेमा त्यसो नभएको पौडेलले बताए । ‘पार्टीका पुराना सदस्यहरूलाई हटाउने, उनीहरूको भूमिका मेट्ने किसिमले काम हुनु भएन । सदस्यता विवाद टुङ्ग्याउँदा पनि विधि र पद्धतिअनुसार हुनुप¥यो भन्ने कुरा भयो,’ पौडेलले भने ।
क्रियाशील सदस्यताको विषय टुंगो लगाउन कृष्ण सिटौला, मीनेन्द्र रिजाल, रमेश लेखकबीच बैठक आज नै बस्ने तय भएको छ । सो बैठकमा त्यही अनुसार कुरा राख्न मीनेन्द्र रिजाललाई जिम्मा दिइएको छ ।
छलफलमा आगामी महाधिवेशनमा उम्मेदवारीको विषयमा पनि सामान्य चर्चा भएको पौडेलले बताए ।