१२ मंसिर २०८१, बुधबार
नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरीपेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु दुई तथा डिजल र मट्टीतेलमा पनि प्रतिलिटर रु दुई नै वृद्धि गरिएको छ ।
आन्तरिकतर्फको हवाई इन्धनको मूल्यसमेत प्रतिलिटर रु दुईले वृद्धि भई रु ८६ पुगेको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलो १६ डलरले वृद्धि गरी ७७० अमेरिकी डलर कायम गरिएको छ ।
मूल्य बढाउँदा समेत पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ४२ पैसा, डिजलमा प्रतिलिटर २ रुपैयाँ ६४ पैसा र ग्यासमा प्रतिसिलण्डर ४२० रुपैयाँ ७५ पैसा घाटा रहेको निगमको जिकिर छ । निषेधाज्ञा जारी रहेको अवस्थामा पछिल्लो १५ दिनमा मात्रै निगमलाई रु ९६ करोड नौ लाख घाटा हुने देखिएको छ । निगमका अनुसार पेट्रोलमा कूल रु १९ करोड, डिजलमा रु १९ करोड छ लाख र खाना पकाउने एलपी ग्यासमा रु ६२ करोड २२ लाख बराबरको घाटा रहेको छ ।
इण्डियन आयल कर्पोरेशनबाट प्राप्त पछिल्लो मूल्य सूचीअनुसार पछिल्लो १५ दिनमा रु एक अर्ब १५ करोड २२ लाख बराबरको घाटा हुने देखिएपछि मूल्य वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। भारतीय सीमा क्षेत्रमा पेट्रोल प्रतिलिटर ४१ रुपैयाँ १९ पैसा, डिजल प्रतिलिटर ४४ रुपैयाँ ४ पैसा नेपालतर्फ सस्तो रहेको छ ।