१२ मंसिर २०८१, बुधबार
नेपाल विद्यार्थी संघले नेपाल आयल निगमले गएरातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै संघका महामन्त्री बलदेव तिमल्सिनाले मूल्यवृद्धिको भत्र्सना गर्दै निषेधाज्ञा र महामारीबीच पटक–पटक गरिएको मूल्यवृद्धि जनविरोधी कार्य भएको उल्लेख गरेका छन् ।
स्वचालित मूल्य प्रणालीको हवाला दिइए पनि कालोबजारी र चुहावट नियन्त्रण, संकटको समयमा प्रयोग गर्न मिल्ने मूल्य स्थिरीकरण कोषमा सञ्चित रकमको उपयोग, अनावश्यक करहरूको शीर्षक कटौतीतर्फ नेपाल आयल निगमले कुनै पहल नै नगरेको नेविसंघको आरोप छ ।
आयल निगमले गएरातिबाट लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनमा प्रतिलिटर दुई–दुई रुपैयाँ मूल्यवृद्धि गरेको छ । यस्तै खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ बढाइएको छ ।
पछिल्लो मूल्यअनुसार पेट्रोल १३०, डिजल र मट्टीतेल ११३ तथा हवाई इन्धन प्रतिलिटर ८६ रूपैयाँ छ । यस्तै एलपी ग्यासको मूल्य १ हजार ४ सय ५० पुगेको छ ।