२९ फाल्गुन २०८२, शुक्रबार
सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएका नेपाल धितोपत्र बोर्डका सदस्य चन्द्र ढकालले पदबाट राजीनामा दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष रहेका ढकाल महासंघको प्रतिनिधित्व गर्दै बोर्डको संचालक सदस्य बनेका थिए । उनले बुधबार संचालक समिति सदस्यबाट राजीनामा दिएका हुन् ।
महासंघका अध्यक्ष शेखर गोल्छाका अनुसार अब महासंघको तर्फबाट चन्द्र ढकालले बोर्डमा प्रतिनिधित्व गर्ने छैनन् । महासंघमा आन्तरिक छलफल गरेर बोर्डमा एक जना पठाउने तयारी भइरहेको छ । यही प्रकरणमा मुछिएका नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले मंगलबार पदबाट राजीनामा दिएका थिए ।


नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना, बोर्डका सदस्य ढकाल र नेप्सेका सीईओ साउदले सर्वोत्तम सिमेन्टको अप्रत्यक्ष शेयर खरिद गरेकोले अर्थ समितिले कारबाहिको पक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो । यसैबीच बोर्डका अध्यक्ष ढुंगानाले राजीनामा नदिने भएका छन् । उनले सरकारले पदबाट निष्कासन गरे नियम अनुसार अदालत जाने बताएका छन् ।