जिल्ला सभापतिलाई देउवाको ग्रीन सिंग्नल, धर्ना र अनसन स्थगितको तयारी

होमल्याण्ड खबर

२०७८ भाद्र १२ गते, शनिबार १०:५० मा प्रकाशित

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफू निकट जिल्ला सभापतिसँग छलफल गरेको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सिबारीमा शनिबार बिहान पौडेल पक्षका शीर्ष नेताले जिल्ला सभापतिसँग छलफल गरेका हुन् ।

छलफलमा नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह, धादिङ सभापति रमेश धमला, काठमाडौं सभापति सबुज बानियाँलगायत छन्। जिल्ला सभापतिहरू गत बुधबारदेखि पार्टी कार्यालय सानेपामा रिले अनसन बसेका छन्।

उनीहरुको मागलाई पौडेल पक्षले समर्थन गरेको छ। माग पूरा गर्न पौडेल पक्षले शुक्रबार साँझ सभापति शेरबहादुर देउवालाई भेटेर आग्रह गरेको छ । उनीहरुको माग सम्बोधनका लागि देउवा पनि सकारात्मक रहेको बुझिएको छ ।

जिल्ला सभापतिहरु माग अनुसार नै कृयाशील सदस्यको नामावली प्रकाशित हुन थालेको छ । ४८ जिल्लाका कृयाशील सदस्यको नाम पार्टी वेबसाइटमा प्रकाशित गरिसकेको काङ्ग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

निर्वाचन निर्देशन संशोधन गर्नुपर्ने माग पनि जिल्ला सभापतिहरुको छ। काङ्ग्रेसले यही भदौ १८ गते वडा अधिवेशन गर्दैछ, त्यसका लागि निर्वाचन अधिकृत खटिएका छन्। आज नेताहरु कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक सानेपा गएर जिल्ला सभापतिसँग छलफल गर्दै छन् । उनीहरुसँगको छलफलपछि जिल्ला सभापतिले धर्ना र अनसन स्थगित गर्ने बुझिएको छ ।