२९ फाल्गुन २०८२, शुक्रबार
सत्ता गठबन्धन दलहरुको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मन्त्रीपरिषद् बिस्तारबारे निर्णय गर्न सकेको छैन । बैठकमा सरकारले गर्नु पर्ने काम तथा मन्त्रीपरिषद् बिस्तारबारे छलफल भएपनि कुन दललाई कति र कुन–कुन मन्त्रालय दिने भन्ने बारे सहमति जुट्न नसक्दा निष्कर्ष भने निस्कन सकेन ।
सैद्धान्तिक रुपमा सबै नेताहरु सरकारले पूर्णता नपाउँदा समस्या भएको र आलोचनाहरु पनि भइरहेकोमा सहमत देखिएको तर तत्काल सरकार बिस्तार गर्न भने सहमति नबनेको जानकारी नेताहरुले दिएका छन।


बैठकमा सत्ता गठबन्धनलाई औपचारिक स्वरुप दिएर सरकारका कामलाई प्रभावकारी बनाउन सहयोग गर्ने विषयमा भने सहमति भएको छ ।
यस्तै बैठकमा सहभागी गठबन्धन दलका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारका कामलाई लिएर आलोचना आउन थालेको भन्दै ध्यानाकर्षण पनि गराएको नेकपा एकीकृत समाजवादीका नेता वेदुराम भुसालले जानकारी दिए ।
देशका विभिन्न स्थानमा देखिएका विपदका घटनामा उद्धार तथा राहतको प्रक्रियामा सरकारको उपस्थिति बढाउन तथा खोपको व्यवस्थापनलाई पनि सहज बनाउन नेताहरुले ध्यानाकर्षण गराएका छन।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र बेदुराम भुसाल तथा जसपा अध्यक्ष उपेन्द्र यादव र डा.बाबुराम भट्टराई लगायतका नेताहरु सहभागी थिए ।