सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै, भागबन्डा मिलाउने प्रयास

होमल्याण्ड खबर

२०७८ भाद्र १५ गते, मंगलवार ०९:५९ मा प्रकाशित

सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गठबन्धनका शीर्ष नेताहरुको बैठकमा मन्त्रीपरिषद् विस्तारबारे छलफल हुने बताइएको छ ।

आजको बैठकबाट मन्त्रालय भागबण्डा टुंग्याएर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भइरहेको नेताहरुले बताएका छन् ।

पछिल्लो अध्यादेशअनुसार निर्वाचन आयोगले फुटेका दल रोज्न पाउने समयावधि भदौ २२ गतेसम्म दिएकाले अध्यादेश निष्क्रिय पारेर मात्रै मन्त्रीपरिषद विस्तार गर्ने विषयमा पनि नेताहरुबीच छलफल भइरहेको बुझिएको छ ।

भर्खरै फुटेका दलबाट मन्त्री बन्ने आकांक्षी धेरै भएपछि जसपा र नेकपा एकीकृत समाजवादी आन्तरिक दबाबमा छन् । नेताहरु कुन दलले कुन मन्त्रालय लिने भन्ने विषयमा करिव करिव सहमति नजिक भए पनि आफ्नो पार्टीबाट कसलाई मन्त्री बनाउने भन्नेमा दबाबमा छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ५० दिन पुग्दा समेत मन्त्रीपरिषदले पूर्णता नपाउँदा सरकारको आलोचना हुन थालेको छ । गत असार २९ मा प्रधानमन्त्री नियुक्त भएका देउवाले कांग्रेस र माओवादी केन्द्रबाट चार मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन् ।