पीपीएलएको भेलामा सहभागी भएनन् ओली

होमल्याण्ड खबर

२०७८ भाद्र १८ गते, शुक्रबार १६:१३ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी निकट प्रगतिशील पेशागत कानुन व्यवसायी संघ (पीपीएलए)को भेलामा सहभागी नहुने भएका छन् । पीपीएलएको भेलाका सन्दर्भमा विवाद भएपछि ओली सहभागी नभएका हुन् । ललितपुरको च्यासलमा शुक्रबार दुई बजे सुरु हुने गरी बोलाइएको भेलामा ओलीलाई प्रमुख अथितिका रुपमा आमन्त्रण गरिएको थियो ।

तर पीपीएलएका अध्यक्ष रुद्र नेपालले आज राखिएको भेला संस्थागत निर्णयबाट नभएको भन्दै भेलामा सहभागी नहुन आग्रह गरेका थिए ।पीपीएलएका इन्चार्ज रहेका एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले आजको भेला रोक्न आग्रह गरेका थिए । एमाले जेठ २ मा फर्किने निर्णय भएको बेलामा एमालेका दोस्रो तहका तेस्रो धारका नेताहरुले समेत पीपीएलएको आज बोलाइएको भेला स्थगन गर्न माग गर्दै आएका थिए । पार्टीमा भएको १० बुँदे सहमतिको भावना विपरीत पिपिएलको बैठक बोलाइएको उनीहरुको भनाइ थियो ।