२९ फाल्गुन २०८२, शुक्रबार
गृह मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको भन्दै गम्भीर आपत्ति जनाएको छ ।
मन्त्रालयले आइतार जारी गरेको विज्ञप्तिमा छिमेकी प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको र यस्तो उच्छृंखल र निन्दनीय गतिविधि प्रति गम्भीर आपत्ति प्रकट गरिएको छ ।


उक्त घटना भएसँगै सरकारले आगामी दिनमा यस प्रकारको कुनै गतिविधि नगर्नसमेत ध्यानकार्षण गराएको छ । गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले हस्ताक्षर गरेको पत्र भनिएको छ, ‘विगत केही दिनयता छिमेकी मित्र राष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गृह मन्त्रालयको गम्भीर ध्यानकर्षण भएको छ ।’
यस्तै, विज्ञप्तिमा सरकारले सबै मित्र राष्ट्रहरूसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहेको जनाएको छ । मित्र राष्ट्रहरूसँग उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कूनीतिक माध्यमबाट समाधान गरिदै आएकाले आगामी दिनमा समेत सोही माध्यमबाट समाधान गर्ने गृहले जनाएको छ ।
गत शुक्रबार दार्चुलामा भएको घटनाको विरोधमा माधव कुमार नेपाल नेतृत्वको पार्टीका विद्यार्थी संगठनले मोदीको पुत्ला दहन गरेका थिए । उनीहरूले दार्चुलाका जयसिंह धामी महाकालीमा तुइन तर्ने क्रममा भारतीय सुरक्षा बल (एसएसबी)ले तुइन खुस्काउँदा नदीमा खसेर बेपत्ता भएको भन्दै भारतविरुद्ध आन्दोलन गरेका थिए ।
