३० कार्तिक २०८१, शुक्रबार
राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण स्थगित भएको छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक प्रारम्भ भएको जानकारी गराउन नपाउँदै सत्तापक्षका सांसदहरु उठे । लगत्तै प्रमुख प्रतिपक्षी दलका सांसदहरु पनि उभिए । अध्यक्षले सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरुलाई बस्न आग्रह गर्दै नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिए ।
त्यसपछि बसेका प्रतिपक्षी दलका सांसदहरु पनि उभिए । त्यसपछि अध्यक्षको अनुमतिबिना नै दुवै पक्षका सांसदहरुबीच भनाभन सुरु भयो । प्रमुख प्रतिपक्षी दलका सांसदहरु उभिएर विरोध जनाइरहेका बेला बोलेका नेकपाका प्रमुख सचेतक भट्टराई सदनले चल्नुपर्छ भन्दै जबरजस्ती सदन रोक्न पाइँदैन भन्ने अभिव्यक्ति राखेपछि फेरि काग्रेसका सांसद सुरेन्द्र पाण्डे र सरिता प्रसाईले प्रतिकार गरे । त्यसपछि बैठकमा होहल्ला सुरु भयो । चोर आंैला देखाई देखाई सांसदहरु भनाभनमा उत्रिँदा अध्यक्ष तिमिल्सिना भने आसनग्रहण गर्न आग्रह गर्दै थिए ।
अध्यक्ष बोल्दै गर्दा पनि सांसदहरु बोलिरहेपछि अध्यक्ष तिमिल्सिनाले आफूले बोल्दा बोल्न नमिल्ने भन्दै नियमावलिलाई स्मरण गराउनुपरेको थियो । निकै समयपछि सत्तापक्ष दलका सदस्यले आसन ग्रहण गरेपनि प्रतिपक्षी दलका सदस्य उभिइरहेपछि अध्यक्षले बैठक साउन ९ गते बुधबार बिहानसम्मका लागि स्थगित भएको जानकारी गराए ।