बल गरेरै पार्टीलाई क्रान्तिकारी बनाउन लागेका छौं : प्रचण्ड

होमल्याण्ड खबर

२०७८ भाद्र २३ गते, बुधबार ११:४३ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्ष्पकमल दाहाल (प्रचण्ड)ले माओवादी केन्द्रलाई संसदीय पार्टी बन्न नदिन अहिले पार्टी केन्द्रले बल गरिरहेको बताएका छन् । माओवादी शान्ति प्रक्रियामा आएपछि संसदीय राजनीतिमा डुब्न मात्र थालेको र त्यसो हुन नदिई रुपान्तरण गरेर पार्टीलाई क्रान्तिकारी बनाईराख्न पार्टी केन्द्रले वल गरेरै प्रयास थालेको प्रचण्डको भनाई छ ।

माओवादी जनयुद्दका क्रममा मारिएका उपल्लो स्तरका नेता शुरेश वाग्लेको २२ औं स्मृति दिवसका अवसरामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाडा कोटेश्वरमा आयोजित कार्यक्रमलाई सम्वोधन गदै प्रचण्डले पार्टी रुपान्तरण नगरी नहुने अवस्था आएको बताए ।
उनले सजिलै पार्टीका नेता÷कार्यकर्ता रूपान्तरण हुने अवस्था नदेखिएपछि वल प्रयोग गरेरै रुपान्तरण गर्न खोजिएको बताएका हुन् ।

‘हाम्रा आफ्नै मूल्य÷मान्यता छन्, संविधानमा हामीले आफना असहमति दर्ज गरेरै गएका छौं, त्यसमा अडिने, पार्टीमा वलिदान गर्ने नेता कार्यकर्ता र हजारौं वेपत्ता, अंगभंग योदाहरुको सम्मान गर्ने गरी पार्टीलाई अझैं क्रान्तिकारी बनाईराख्न जरुरी छ । त्यसका लागि बल प्रयोग गरेरै रुपान्त्रण गर्न खोजिएको छ,’ प्रचण्डले भने,–‘रुपान्तरण नै हुन नचाहने हो भने माओवादी पार्टी किन चाहियो, विघटन गरिदिए भईहाल्यो नी ।’ प्रचण्डले क्रान्ति गर्छौं भनेर आएको पार्टीका नेता प्रतिक्रान्तिमा लाग्न नहुने मा पनि जोड दिए ।

‘क्रान्ति गर्छौं भन्ने अनि प्रतिक्रान्ति गर्ने र जनतालाई धोका दिनुभन्दा त विघटन गरौं भन्ने हो, गुट बनाउने र पैसा प्राप्ति गर्ने भए एमालेमै गए भयो त। केही साथीहरू त गए।’ प्रचण्डले भने ।