प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित

होमल्याण्ड खबर

२०७८ भाद्र २७ गते, आईतवार १५:३३ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका कारण नियमित सञ्चालन हुन नसकेको प्रतिनिधिसभाको बैठक मंगलवारसम्मका लागि स्थगित गरिएको छ । आजको बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी गर्दै अवरोध गरेपछि केही समयका लागि बैठक स्थगित गरिएको थियो ।

१५ मिनेटका लागि स्थगित गरिएको बैठक पुनः शुरु गरिएलगत्तै एमाले सांसदहरुले नाराबाजी गर्न थालेपछि संसद बैठक भदौ २९ गते मंगलबारसम्मका लागि स्थगित गरिएको हो । आज र भोलि दलहरुबीच सहमति जुटाउने समय राखी सभामुख अग्निप्रसाद सापकोटाले भदौ २९ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित गरेका छन् ।

आजको बैठक शुरु हुनुअघि नै सभामुख सापकोटाले एमाले नेताहरुसँग छलफल गरेका थिए । कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई साथमा राखेर सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग छलफल गरेका थिए ।