२९ फाल्गुन २०८२, शुक्रबार
अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने गरी आदेश भएको भन्दै पूर्वन्यायाधीश बलराम केसी रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । प्रधानन्यायाधीश विना संवैधानिक इजलास नबस्न आदेश दिँदै न्यायाधीश हरि फुयालको एकल इजलासले पूर्वप्रधानन्यायाधीशको अभिव्यक्ति र सञ्चार माध्यममा भएको बहसबारे पनि बोलेको थियो ।
उक्त आदेशले आफूहरुलाई समेत विचार व्यक्त गर्न र धारणा राख्न नियन्त्रण गर्न खोजेको भन्दै सर्वोच्चकै पूर्वन्यायाधीश केसी निवेदन लिएर पुगेका हुन् । उनले न्यायाधीश फुयालको इजलासले दिएको आदेश खारेजीको माग गरेका छन् । उनको निवेदन दर्ता प्रक्रियामा रहेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।


‘मैले त लेख लेख्छु, मनमा लागेको बोल्छु । अदालतको आदेशले बोल्न लेख्न रोक्ला कि जस्तो देखियो’ केसीले भने, ‘यो त गलत भयो । मेरो हक हनन हुन्छ है भनेर आफ्नो सरोकारको सवालमा हस्तक्षेप गर्न म सर्वोच्च अदालत गएको हुँ ।’
आफ्नो मुद्दामा आफैं न्यायाधीश बन्न मिल्छ भनेजस्तो देखियो
सर्वोच्चको आदेशले आफ्नो मुद्दामा आफैं न्यायाधीश बन्न मिल्छ भन्ने विषयलाई स्वीकार्न खोजेको देखिएको भन्दै केसीले यसबाट न्यायालयमा अनर्थ हुने बताए । न्यायाधीश फुयालको इजलासले प्रधानन्यायाधीशविना संवैधानिक इजलास बस्न नसक्ने आदेश दिएको थियो । यो आदेशले प्रधानन्यायाधीशविरुद्धको मुद्दाको सुनुवाइमा पनि उनी सहभागी हुन पाउने देखिएको केसीको भनाइ छ ।
केसीले वारेसमार्फत सर्वोच्चमा निवेदन दिएका हुन् । आफ्नो निवेदनमा बहस भए पनि आफू अदालत नजाने उनले बताए । ‘मेरो प्रतिनिधि गएर मेरो हकका बारेमा बोल्नुहुन्छ । अदालत जाने र फोटो खिचाएर लोकप्रिय हुने उद्देश्यले मैले निवेदन दिएको होइन ।’