एमाले सांसद पाण्डे र भट्टले एकीकृत समाजवादी रोज्न पाउने

होमल्याण्ड खबर

२०७८ भाद्र २९ गते, मंगलवार १६:०९ मा प्रकाशित

एमाले सांसद सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले नेकपा एकीकृत समाजवादी रोज्न पाउने भएका छन । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले पाण्डे र भट्टले नेकपा एकीकृत समाजवादी रोज्न पाउने फैसला गरेको हो ।

इजलासले पाण्डे र भट्टलाई एकीकृत समाजवादीमा आवद्ध हुने पाउने अधिकारमा असर पर्ने गरी कुनै काम कारबाही नगर्न नगराउन अन्तरिम आदेश दिएको हो ।

निर्वाचन आयोगले नेकपा एकीकृतमा सनाखत गर्न नदिएको भन्दै २३ भदौमा एमाले सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्ट सर्वोच्च पुगेका थिए। रिटमा निर्धारित समयमा एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरिदिएको जिकिर गर्दै एमालेले गर्न सक्ने कारबाही रोक्न अन्तरिम आदेश माग गरिएको थियो।

इजलासले सनाखतपूर्व नै दल रोजेको देखिएकाले त्यसलाई मुद्दाको टुंगो नलाग्दासम्म असर गर्ने गरी कुनै कारबाही नगर्न अन्तरिम आदेश दिएको छ ।