अपानि अक्षरश: पालना गरौं, षड्यन्त्र आवश्यक छैन् : अष्टलक्ष्मी

होमल्याण्ड खबर

२०७८ भाद्र ३१ गते, बिहीबार १४:२४ मा प्रकाशित

बागमती प्रदेशकी मुख्यमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीबाट जारी १२औँ अन्तरपार्टी निर्देशन अपानि अक्षरशः पालना गरेर जानुपर्ने बताएकी छन् । बिहीबार काठमाडौं जिल्लाको भेलालाई सम्बोधन गर्दै उनले ०७५ जेठ २ मा रहेको जिम्मेवारीलाई मानेर अघि बढ्नुपर्ने बताइन् ।

“अपानी १२ जारी भइसकेको छ । मेरो सम्पूर्ण कमरेडहरुलाई, खासगरी नेतृत्व तहको कमरेडलाई मेरो अनुरोध छ । जारी भएको अन्तरपार्टी निर्देशनको अक्षरशः पालना गरौँ । त्यसमा जालझेल, षड्यन्त्र आवश्यक छैन्,” उनले भनिन्, “०७५ जेठ २ मा जे भनिएको छ, जो आउँछ, त्यसलाई नेतृत्व मानेर अघि बढौँ ।”

उनले अपानि पालना गरेर त्यसैअनुसार कमिटी गठन गरेर जानुपर्ने बताइन् । हिजोको पूर्वाग्रह, मनमुटावलाई भुलेर मन फराकिलो बनाउन आवश्यक रहेको उनले उल्लेख गरिन् ।

नेतृ शाक्यले अब प्यानलगत चुनाव गर्न नहुने पनि बताइन् । नवौं महाधिवेशनमा दुईवटा प्यानल बनाएर लडेको र एउटा जित्दा अर्कोले हारेपछि गुटबन्दी भएको शाक्यले बताइन् ।

पार्टीमा पछिल्लो समय विचारमा पनि विचलन आएको उनले बताइन् ।