२९ फाल्गुन २०८२, शुक्रबार
सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी र विभूषण ९ सय ३ जनालाई प्रदान गर्ने भएको छ । राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिने उनीहरुलाई विभिन्न मानपदवीद्वारा विभूषित गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले २९ भदौको मन्त्रिपरिषद बैठकको सिफारिस अनुसार ९ सय ३ जनालाई मानपदवी, अलंकार र विभूषणबाट सम्मान गरेकी हुन् ।
जसमा सबैभन्दा ठूलो मानपदवीका रूपमा रहेको नेपालरत्न सन्त नेता तथा पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टरार्ईलाई प्रदान गरिनेछ ।यसैगरी, राष्ट्रगौरवका रूपमा रहेको पदवी यसपटक स्वर्गी सुवर्ण शमशेर जबरा र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई प्रदान गरिने भएको छ । यस्तै, अन्य ठूला पदक पाउनेमा स्व. मंगलादेवी सिह, मोहनचन्द्र अधिकारी र पोष्टबहादुर बोगटी रहेका छन् ।


गायकहरू हेमन्त शर्मा, प्रकाश सपुत, नायिका केकी अधिकारी, नायक अनमोल केसीलाई पनि विभूषित गरिने भएको छ । यसैगरी, पशुपतिमा लास जलाएर उल्लेख्य भूमिका निर्वाह गर्दै आइरहेकी सपना रोका मगर, एसिड पीडित मुस्कान खातुन, तेजिया फौजा मगर, यौनिक अल्पसंख्यक अभियान्ता भूमिका श्रेष्ठ, पर्वतारोही कल्पना महर्जनलगायतलाई पनि महत्वपुर्ण विभूषण प्रदान गर्न लागिएको छ ।
निजामती, जंगी, प्रहरी र सशस्त्र प्रहरी क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गरिरहेका कर्मचारी, प्रहरी र सेनाका उच्च पदस्थहरूलाई पनि विभिन्न पदवीले विभूषित गरिने भएको छ । यसैगरी, विभिन्न सामाजिक संघसंस्थामा रहेकालाई पनि विभूषित गरिन लागिएको छ । हरेक वर्ष संविधान दिवसका दिन ३ असोजमा विभूषण पाउनेहरूको नाम सार्वजनिक गरिँदै आएको छ ।

