२९ फाल्गुन २०८२, शुक्रबार
माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २२औं राष्ट्रिय सम्मेलन तयारी नपुगेको भन्दै एक साता पछि सारिएको छ । यही असोज ८, ९ र १० गते गर्ने भनिएको राष्ट्रिय सम्मेलन १४, १५ र १६ गते काठमाडौँमा गर्ने निर्णय भएको हो ।
केही प्रदेशको सम्मेलन बाँकी रहेको र पूर्वतयारी पनि नसकिएकाले राष्ट्रिय सम्मेलन १४ गतेबाट सुरु गर्ने निर्णय गरिएको अखिल क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष एवम् सम्मेलन प्रचार प्रसार उपसमिति संयोजक सुरेन्द्र बस्नेतले जानकारी दिए ।


२१ औं राष्ट्रिय सम्मेलनमा भने क्रान्तिकारीले निर्वाचनमार्फत् नयाँ नेतृत्व चयन गरेको थियो । त्यसयता संगठन र पार्टीमा गुटबन्दी बढेको भन्दै प्रचण्डले सहमतिबाटै नेतृत्व चुन्नुपर्नेमा जोड दिंदै आएका छन् । अखिल क्रान्तिकारीको आगामी अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेत र उपाध्यक्ष पञ्चा सिंह प्रमुख दाबेदार छन् ।
अखिल क्रान्तिकारीका ५५ जिल्लामा सम्मेलनहरु सकिइसकेको छ । काठमाडौँ लगायतका केही जिल्लामा सम्मेलन हुन बाँकी रहेको अखिल क्रान्तिकारीका प्रवक्ता जीपी मैनालीले जानकारी दिए । अखिल क्रान्तिकारीको भौगोलिक (सात वटा प्रदेश) र गैरभौगोलिक (उपत्यका विशेष प्रदेश) गरी ८ प्रदेश संरचना छन् ।
उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरसहित केही जिल्ला सम्मेलनहरु बाँकी रहेको र प्रदेश सम्मेलनका लागि विधान र कार्यविधि तयार गरी हिजो परिपत्र गरिएको प्रवक्ता जीपी मैनालीले जानकारी दिए । यसपालि पालिकास्तरमा पनि अखिल क्रान्तिकारीको सम्मेलन भएका छन् । यसअघि पालिकाहरुमा अखिल क्रान्तिकारीको संरचना बनेको थिएन ।