२९ फाल्गुन २०८२, शुक्रबार
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरु पावर केन्द्रित गर्छन् भन्ने भ्रममा नपर्न आग्रह गरेका छन् ।मदन भण्डारीको जीवनीमा आधारित पुस्तक ‘श्वेतशार्दुल’ विमोचन समारोहमा कांग्रेस नेता दमननाथ ढुंगानाले कम्युनिष्टहरुले लोकतन्त्र नचाहेको र केन्द्रीकृत शासनको पक्षपात गर्न खोजेको आरोप लगाएपछि जवाफमा ओलीले कम्युनिष्टहरु केन्द्रीकृत शासन गर्छन् भन्ने कुरामा भ्रम नपाल्न आग्रह गरे ।
उनीभन्दा अगाडि बोलेका पूर्वसभामुख दमननाथ ढुंगानाले कम्युनिस्टहरुले पावर केन्द्रित गर्छन् भनेका थिए । त्यसमा असहमति जनाउँदै ओलीले भने, ‘अरुले ल्याइदिएको डेमोक्रेसीमा हामी सहभागी भएका होइनौं, हामीले रगत पसिना बगाएर ल्याएको हो ।’


ओलीले नेकपा एमाले रैथाने लोकतन्त्रवादी भएको दाबी गरे । ‘लोकतन्त्रका लागि कांग्रेसका कुनै नेताले भन्दा हामीले कम योगदान गरेको छैन । फेरि मैले कांग्रेसले कम गरेको छ पनि भनेको छैन,’ ओलीले भने, ‘प्रजातन्त्र अरुले ल्याइदिएको होइन, अरुले ल्याइदिएको प्रजातन्त्र हामीले स्वीकारमात्रै गरेको पनि होइन । हामीले रगत पसिना बगाएर स्थापना गरेको प्रजातन्त्र हो । हामी अतिथि लोकतन्त्रवादी होइनौं, रैथाने लोकतन्त्रवादी हौं ।’
उनले अहिले नेकपा एमालेले अपनाएको लोकतान्त्रिक पद्धति र संस्कार सबैभन्दा उत्तम भएको दाबी गरे ।