२९ फाल्गुन २०८२, शुक्रबार
नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको घटनामा आफ्नो संलग्नता नरहेको दावी गरेका छन् ।
गच्छदारले ललितानिवास जग्गा प्रकरणमा प्रतिशोध साँध्नका लागि मुद्दा चलाइएको जिकिर गरेका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले झुटो मुद्दा लगाएर राजनीतिक प्रतिशोध साँध्ने षड्यन्त्र भएको दाबी गरे । ५० वर्षको राजनीतिक जीवन ध्वस्त पार्ने उद्देश्यका साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोग लागेको आरोप पनि उनले लगाए ।


मुद्दा निष्पक्ष रूपमा नचलाइएको र छानीछानी चलाइएको उनको भनाइ छ । उनले आफ्नो राजनीतिक चरित्र हत्या गर्ने षड्यन्त्र भइरहेको उनले बताए ।
उनले आफ्नो घरसमेत नभएको र डेरामा बस्दै आएको पनि बताए ।
बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्नेसम्बन्धी प्रस्ताव तत्कालिन भौतिक पूर्वाधारमन्त्री गच्छदारले मन्त्रिपरिषदमा लगेको अख्तियारको दावी छ । अख्तियारले उक्त विषयमा गच्छदारसमेत १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सो मुद्दामा वयान दिन गत असार ३० गते हाजिर भएका उनलाई विशेष अदालतले १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।