को हुन् परराष्टमन्त्रीमा नियुक्त भएका खड्का ?

होमल्याण्ड खबर

२०७८ आश्विन ६ गते, बुधबार १५:५५ मा प्रकाशित

परराष्ट्रमन्त्री डा.नारायण खड्काको जन्म २००५ साल चैत ७ गते भोजपुरमा भएको हो ।

वि.सं २०२३ मा विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका उनले नेपाली कांग्रेसको विद्यार्थी फाँट हुँदै पार्टीगत राजनीतिमा सक्रिय रहेर कांग्रेसको केन्द्रीय सदस्य भएका छन ।

वि.सं २०६४ मा उदयपुर–१ बाट संविधानसभा सदस्य निर्वाचित भएका उनी २०७० सालको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका हुन ।

सोही स्थानबाट २०७४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित डा.खड्का अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्य हुन ।

वि.सं २०७० मा उनी सहरी विकास मन्त्री थिए भने २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका सल्लाहकार । उनले २०५७ सालमा राष्ट्रिय योजना आयोगको उपाध्यक्षका रुपमा काम गरिसकेका छन ।

राजनीतिक आन्दोलनका क्रममा काठमाडौँ र विराटनगरमा पटकपटक पक्राउ परेका उनी विभिन्न समयमा पाँचपटक जेल पनि परेका थिए ।

राजनीतिसँगै अध्ययन र समाजसेवमा विशेष रुचि राख्ने मन्त्री खड्का चार दशकदेखि राजनीतिमा सक्रिय छन ।

अर्थशास्त्रमा विद्यावारीधि गरेका उनी नेपाली कांग्रेसको प्रभावशाली नेता हुन । उनी संविधानसभा पदकलगायत विभिन्न पदकबाट सम्मानित भइसकेका छन ।