२९ फाल्गुन २०८२, शुक्रबार
प्रमुख विपक्षी दल नेकपा एमालेको विरोधका बीच प्रतिनिधिसभा बैठकमार्फत राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित भएको छ । बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले नारावाजी गर्दै विरोध गरेका थिए । एमालेका सांसदहरूले विरोध गरिरहँदा नेपाल मजदुर किसान मजदुर पार्टीका सांसद प्रेम सुवालले राष्ट्र ऋण उठाउने विधेयकविरूध आफ्नो फरक अभिमत राखेका थिए । उनले राष्ट्रले अनावश्यक ऋण लिएर भावी पुस्तालाई ऋणको भार बढाउन खोजेको बताए ।
‘वार्षिक झण्डै ३ खर्ब ऋण लिएर सरकारले किन सही ठाउँमा प्रयोग गर्न सकेन, सार्वजनिक ऋण लिएर भारतसँग खरिद गरेको चामल हवाई जहाजसम्म नभएको कम्पनीलाई महंगोमा ठेक्का दिन मिल्छ,’ उनले भने, ‘सार्वजनिक ऋण लिएर नेताहरूको उपचार र आफ्नो मान्छेलाई सम्मान गरी पदक बाँड्न करोडौँ रुपैयाँ किन खर्च गरेको ? यसबारे प्रश्न उठ्दै आएको छ ।’


उनले सरकारको ध्यान चीनसँग समन्वय गरी सबै नेपालीलाई कोरोनाविरुद्धको खोप दिनुभन्दा सत्ताको खेलमा केन्द्रीय भएको बताए । यस्तै, उनले स्रोत नखुलेको सम्पत्तिलाई कानुनी अधिकार दिने होइन त्यसलाई सरकारले जफत गरी सरकारीकरण गरी अगाडि बढ्नु पर्ने बताए ।
प्रतिनिधिसभाको अर्को बैठक असोज ११ गते दिउँसो दुई बजे बस्ने भएको छ ।