एमाले स्थायी कमिटी बैठक बस्दै, प्रतिवेदन र प्रस्तावमाथि आएका सुझावबारे छलफल हुने

होमल्याण्ड खबर

२०७८ आश्विन ११ गते, सोमबार १०:२५ मा प्रकाशित

 नेकपा (एमाले)को स्थायी कमिटी बैठक च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा विधान महाधिवेशनका लागि प्रस्तुत प्रतिवेदन र प्रस्तावमाथि आएका सुझावबारे छलफल हुने छ । तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनमा पेश गरिने तीन प्रस्तावमाथि समूहगत रुपमा छलफल भएको थियो ।

छलफलबाट धेरैको सुझाव उपाध्यक्ष ७ जना राख्नुपर्ने, पोलिटब्यूरो यथावत राख्नुपर्ने र केन्द्रीय सचिवालय आवश्यक नरहेको सुझाव दिएका थिए। हिजो सकिएको केन्द्रीय कमिटी बैठकले उक्त सुझावलाई ग्रहण गर्दै स्थायी कमिटी बैठकबाट निर्णय गरेर टुंग्याउने निर्णय गरेको थियो ।

त्यस्तै बैठकमा १० बुँदे कार्यान्वयन नभएकोबारे उठेको कुरामाथि पनि छलफल हुने छ। विशेष गरी उपाध्यक्ष भीम रावल लगायतका नेताहरुले १० बुँदेको कार्यान्वयन समानरुपमा हुन नसकेको बताएका थिए । अध्यक्ष केपी शर्मा ओलीले यसबारे स्थायी कमिटी बैठक राखेर छलफल गर्ने आश्वासन दिएका थिए ।