ओलीको कटाक्ष : महाधिवेशनमा धेरै तामझाम देखियो भनेर विरोधी छाती पिटिरहेका छन्

होमल्याण्ड खबर

२०७८ आश्विन १७ गते, आईतवार १६:३३ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले विधान महाधिवेशनमा धेरै तामझाम गरेको देखेर विरोधीले छाती पिटिरहेको टिप्पणी गरेका छन् ।  ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा उठेको प्रश्नको जवाफ दिने क्रममा ओलीले भने, ‘हामीमाथि चौतर्फी हमला भएको छ। हाम्रो विचार र संगठनमाथि हमला भएको छ । नेकपा एमालेको महाधिवेशनमा झण्डा, ब्यानर देखियो रे । धेरै तामझाम देखियो रे भनेर विरोधीले छाती पिटिरहेका छन् ।’

ओलीले आफू व्यक्तिप्रेमी नभएकाले सामूहिकतामा निर्णयमा चल्ने बताए । ओलीले भने, ‘हामी व्यक्तिप्रेमी नभई सामूहिकताको निर्णय गछौँ । कमिटी प्रणाली र सामूहिक नेतृत्वमा विश्वास गरेर छलफलबाट निष्कर्ष निकाल्छौँ । हाम्रो छलफलबाट निस्केका निष्कर्षलाई व्यवहारमा लागू गछौँ ।’  नेकपा एमाले सरकारमा आएपछि देश र जनताको पक्षमा विकासको लहर आएको दाबी गरे । एमालेका सामु विपक्षीहरूले आफ्नो कुनै भविष्य नदेखेर अतालिएकाले विरोध गरेको उनको आरोप छ ।