२९ फाल्गुन २०८२, शुक्रबार
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिने भएको छ ।
नेपाली कांग्रेस र माओवादीबाट मन्त्री बन्नेहरुको नाम टुङ्गो लगाएर मुख्यमन्त्री कुलप्रसाद केसीले आज साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्


चार वटा मन्त्रालय पाएको नेपाली कांग्रेसले बाँकेका सुरेन्द्र हमाललाई वन वातावरण तथा भूसंरक्षण मन्त्रीमा र रुपन्देहीका वसिउद्दिन खाँलाई शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा पठाउने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीका लागि रूपन्देहीका अष्ठभुजा पाठक र पाल्पाका वीरबहादुर रानामध्ये कसलाई पठाउने भन्नेबारे टुंगो लाग्न बाँकी छ ।
यस्तै, माओवादीबाट दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्मा मन्त्री बन्ने छन् ।माओवादीले दाङकी बिमला खत्री वलीलाई राज्यमन्त्री बनाउने भएको छ । उनी केही अघि एमाले र माओवादी केन्द्रको तानातानमा परेकी थिइन् । पछिल्लो समय उनले माओवादी केन्द्र रोजेकी हुन् ।
यस्तै, यस्तै नेकपा (एकीकृत समाजवादी) बाट रमा घर्ती मन्त्री बन्ने छिन् ।
नवनियुक्त मन्त्रीहरुलाई आजै दिउँसो ४ बजेसम्म शपथ गराउने तयारी भएको बताइएको छ ।
१३ मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा यसअघि मुख्यमन्त्रीसहित माओवादीका २, कांग्रेसका १, जसपाका ३ र स्वतन्त्र १ गरी ७ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । जसपाले भौतिक पूर्वाधार, श्रम रोजगार तथा यातायात, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय पाएको छ । त्यस्तै स्वतन्त्र सांसद अजय शाही उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री छन् ।