हाम्रो प्रदर्शन न्यायालयविरुद्ध होइन : कानुन व्यवसायी

होमल्याण्ड खबर

२०७८ कार्तिक १४ गते, आईतवार १०:५७ मा प्रकाशित

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरुले आफूहरुको आन्दोलन न्यायालयविरुद्ध नभएको बताएका छन् । रहरले नभइ बाध्यताले प्रदर्शन गर्नु परेको उनीहरुको भनाइ छ । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रदर्शन आफूहरुको रहर नभइ बाध्यता भएको बताए । उनले गलत प्रवृत्ति सच्याउने कोसिसविरुद्ध प्रदर्शन गरेको श्रेष्ठको भनाइ थियो ।

नेपाल बार एशोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले विरोध प्रदर्शनमा उत्रिंदा असहज महसुस भए पनि न्यायालयको शुद्धीकरणका लागि प्रदर्शन गर्नु परेको बताइन् । बरिष्ठ कानुन व्यवसायी कृष्णप्रसाद भण्डारीले आफूहरुको प्रदर्शन न्यायालयविरुद्ध नभएको बताए । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरुले आज कालोपट्टीबाँधेर प्रदर्शन गरेका छन् ।

प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले उनको राजीनामा माग्दै विरोधका कार्यक्रम घोषणा गरेको छ ।