धानको बाल र बोटसहित माइतीघरमा प्रदर्शन

होमल्याण्ड खबर

२०७८ कार्तिक १६ गते, मंगलवार १३:०० मा प्रकाशित

गुणस्तरहिन धानको बिउको तथा मनसुनपछिको वर्षाका कारण धान खेतीमा भएको क्षति हुँदा मर्कामा परेका किसानलाई क्षतिपूर्तिका माग गर्दै प्रदर्शन भएको छ । नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ उपत्यका समन्वय समितिको आयोजनामा मंगलबार माइतीघरमण्डामा धानको बाला र बोटसहित प्रदर्शन भएको हो ।

गुणस्तर हिन धानको बिउका कारण समस्यामा परेका उपत्यकाका किसानको समस्या समाधान गरिनु पर्ने तथा गुणस्तर हिन धानको बीउ आयातकर्ता र बिक्रेतालाई कारबाहीको माग उनीहरुले गरेका छन् । यस्तै कात्तिकको सुरुमा परेको भारी वर्षाका कारण भित्र्याउने बेलाको धानबालीमा भएको क्षतिको मूल्यांकन गरी किसानलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि उनीहरुले माग गरेका छन् ।

प्रदर्शनकारीले किसानले उत्पादन गरेका धानसहितका उत्पादन खरिद गर्नका लागि खरिद केन्द्र स्थापना गर्न पनि माग गरेका छन् । यस्तै साना किसानको ऋण मिनाहा, ठूला किसानको व्याज मिनाहा, निशुल्क कृषि बिमाको व्यवस्था, किसान कार्ड तत्काल लागु गर्न तथा किसान पेन्सनको व्यवस्था गर्न पनि उनीहरुले माग गरेका छन् ।