३० फाल्गुन २०८२, शनिबार
जनकपुरधाम। गृहमन्त्री बालकृष्ण खाणले सदन चल्न दिन प्रतिपक्षी नेकपा एमालेसँग आग्रह गरेका छन् ।सोमबार जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री खाणले आफूहरु सरकारमा आइसकेपछि एमालेले सदन नै चल्न नदिएको बताए । ‘एमालेलाई आग्रह छ, तपाईंहरु मार्फत् पनि आग्रह गर्दछु। सदन चल्न दिनुस् ।’
सदनलाई द्रूत रुपमा चलाउँदै सरकारका कमीकमजोरीलाई पनि सुधार्दै अघि बढ्दै विधेयकहरु पारित गर्नुपर्ने उनले बताए । उनले नागरिकता विधेयकलाई पनि चाँडो पारित गर्न खोजेको तर सदन नै नचलेकाले समस्या भइरहेको बताए । न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका तीनै अङ्ग स्वतन्त्र रहेको भन्दै उनले अहिले न्यायपालिकामा देखिएको विवाद संवेदनशील भएको र चाँडो भन्दा चाँडो टुङ्गिने आफूहरुको चाहना रहेको बताए ।


नागरिकको जीवन रक्षाका लागि सरकार गम्भीर रहेको भन्दै उनले सरकारको पहिलो दायित्व नै नागरिकको सुरक्षा रहेको बताए । ‘अहिलेको सुरक्षाको प्रबन्धलाई अझै सुधारेर नेपालको जुनसुकै भू-भागमा बस्ने नागरिकलाई सुरक्षाको अनुभूति गराउँछौं।’ उनले भने ।