३० फाल्गुन २०८२, शनिबार
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतमा भइरहेको आन्दोलनका विषयमा पहिलो पटक औपचारिक अभिव्यक्ति दिएका छन् ।
सर्वोच्च अदालतमा देखिएको अवरोध अन्त्य गर्न सबैको एकता आवश्यक रहेको प्रधानन्यायाधीश जबराले बताएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले विधिभन्दा बाहिरबाट न्यायपालिकालाई हिडाउने प्रयासविरुद्ध एकताबद्ध भएर सामना गर्न आग्रह गरेका हुन् ।


प्रधानन्यायाधीश जबराले विज्ञप्तिमार्फत बार एसोसिएसनलाई संवादमा आउनसमेत आह्वान गरेका छन् । विधिको पक्षमा कर्तव्य निर्वाह गर्ने क्रममा उठेका प्रश्नहरु तत्काल सम्बोधन गर्दै बार र बेन्चबीच हातेमालो हुनुपर्ने बताएका छन् ।
‘नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसनलगायतका बार इकाइ न्यायपालिकाको अभिन्न अंग हुन् । वर्तमान परिस्थितिमा देखिएका गतिरोधहरुको सम्बोधनको उपयुक्त विकल्प संवाद नै रहेको हुँदा नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनलाई संवादका लागि आह्वान समेत गर्दछु,’ उनको विज्ञप्तिमा उल्लेख छ ।
प्रधानन्यायाधीशको विज्ञप्तिमा गत विहीबार सर्वोच्च अदालतमा परिसरमा वकिलहरुको धर्नामाथि भएको प्रहरी हस्तक्षेपप्रति दुःखसमेत व्यक्त गरिएको छ ।

