एमाले स्थायी कमिटी बैठक बस्दै

होमल्याण्ड खबर

२०७८ मंसिर ६ गते, सोमबार १०:४९ मा प्रकाशित

नेकपा (एमाले)को स्थायी कमिटी बैठक बस्न लागेको छ । दशौं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आज अपरान्ह ३ बजे बस्ने बैठकमा महाधिवेशनको अन्तिम तयारीबारे छलफल हुनेछ । तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा आह्वान गरिएको बैठकमा महाधिवेशन प्रतिनिधि मनोनयनबारेसमेत छलफल हुने छ ।

पछिल्लो समय नेकपा एमालेको दसौं महाधिवेशनमा पदाधिकारीमा आकांक्षी बढ्दै गएपछि विधान संशोधन गरेर केही नेताको व्यवस्थापन गर्ने विषयमा छलफल अघि बढेको छ । महाधिवेशनको उद्घाटन सत्र सुरु हुन पाँच दिन बाँकी हुँदा कसैले पनि औपचारिक रूपमा उम्मेदवार घोषणा नगरे पनि पदाधिकारीमा धेरै नेता आकांक्षी देखिएपछि विधान संशोधनबारे छलफल अघि बढेको हो ।

अध्यक्षसहित पदाधिकारी तहमा सर्वसम्मत नेतृत्व चयन गर्ने कसरतमा लागेका नेताहरू अहिले विधान संशोधन गरेर भए पनि नेताहरूको व्यवस्थापन गर्नुपर्छ भन्ने पक्षमा रहेका छन् । अध्यक्षमा केपी ओलीको विकल्प नभएकाले त्यसबाहेकका पदमा पनि कोहीकसैले उम्मेदवारको मुख खोल्न सकेका छैनन् ।