एमाले महाधिवेशनमा २५० स्वास्थ्यकर्मी खटाउने

होमल्याण्ड खबर

२०७८ मंसिर ६ गते, सोमबार १४:१६ मा प्रकाशित

नेकपा (एमाले) को दसौँ राष्ट्रिय महाधिवेशनमा दुई सय ५० वढी चिकित्सक परिचालन गरिने भएको छ । महाधिवेशनअन्तर्गतको स्वास्थ्य समितिले महाधिवेशनका लागि चिकित्सकसहितको सबै व्यवस्थापन तयारी पूरा गरेको जनाएको छ ।

स्वास्थ्य समितिको संयोजक भानुभक्त ढकाल र उपसंयोजक वैकल्पिक केन्द्रीय सदस्य रचना खड्का सहसंयोजक रहेका छन्। समितिका सदस्यले चितवनमा गएर खुलासत्र हुने नारायणी नदीको किनार र बन्दसत्र हुने सेभेन स्टार होटेलको अवलोकन गरिसकेको छ । समितिले प्राथमिक उपचारदेखि भैपरी आउने स्वास्थ्य समस्या हेर्ने गरी व्यवस्थापन गरेको संयोजक ढकालले बताए। आवश्यक सङ्ख्यामा तयारी अवस्थामा एम्बुलेन्स राखिनेछ ।

महाधिवेशन उद्घाटनका दिन मङ्सिर १० गते नारायणी नदी किनारमा चिकित्सकहरुको नेतृत्वमा औषधि र उपकरणसहितको चारवटा स्टल राख्ने तयारी भएको छ । बन्दसत्रका लागि सेभेन स्टार होटेल नजिकै रहेको लायन्स क्लबको भवनमा चारवटा सटर राखेर नियमित चेकजाँचसहितको आपत्कालीन चिकित्सकीय सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ।

समितिमा रहेका डा कृष्ण अधिकारी र डा सन्तोष पौडेलले दुई दिनअघि चितवनमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीसँग छलफल गरेर आवश्यक व्यवस्थापन टुङ्गो लगाएको  छ। फिल्डमा खटिने अधिकांश चिकित्सक चितवन र आसपास क्षेत्रका रहनेछन्।

समितिले होटेलमा रहेका प्रतिनिधिहरुका लागि आपत्कालीन स्वास्थ्य समस्या आइपरे नजिकका अस्पतालमा लगेर निःशुल्क उपचारको व्यवस्था मिलाएको छ । अतिआवश्यकीय सेवाका लागि प्रतिनिधि रहने क्षेत्रमा डेक्स राखिने ढकालले बताए । नियमित र उमेरजन्य औषधि सेवनका लागि निःशुल्क व्यवस्था मिलाइएको छ। जस्तैः सुगर, प्रेसरका औषधि छुटेका प्रतिनिधिहरुलाई सहजै उपलब्ध गराइनेछ । आमसभा वा बन्दसत्रका लागि निर्धक्कसँग आउनेजाने र स्वास्थ्यको जोखिम नहुने गरी व्यवस्थापन गरिएको संयोजक ढकालले बता ए।

खुला र बन्द दुवै सत्रमा अनिवार्यरुपमा मास्क र स्यानिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने व्यवस्था मिलाइएको छ। विदेशबाट आएका प्रतिनिधिलाई सम्बन्धित देश फर्कंदा पिसिआर परीक्षण सहजरुपमा गराउने व्यवस्था पनि समितिले नै मिलाएको जनाइएको छ।