ओलीले देउवालाई भने- मेरा खुट्टा तान्नेहरु तपाईका खुट्टा समाइरहेका छन्

होमल्याण्ड खबर

२०७८ मंसिर १० गते, शुक्रबार १६:०० मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो खुट्टा तान्नेहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको खुट्टा समाइरहेको बताएका छन् ।

एमालेको दशौं राष्ट्रिय महाधिवेशनकाे चितवनको सौराहामा आज उद्घाटन गर्दै ओलीले प्रधानमन्त्रीलाई आफ्नो प्रमुख अतिथि बनाएर प्रधानमन्त्रीकै टिप्पणी नगर्ने बताए ।

‘तर प्रधानमन्त्रीजीलाई एउटा गोप्य कुरा भन्नैपर्छ’, ओलीले भने, –‘आगादो चुनावपछि एमालेको सरकरा बन्छ ।’ ओलीले यसो भनिरहँदा मञ्चमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा मुसुमुसु हाँसिरहेका थिए ।

मध्यावधि चुनाव घोषणा गरेको कुरालाई बचाउ गर्दै ओलीले अध्यादेश परमादेशको बाटो नगएर जनताकाबीचमा जानुपर्ने बताए । जनतकाबीचमा जान अरु राजनीतिक शक्तिहरु त्रसित भएको ओलीको भनाइ थियो । आफूले घोषणा गरेको समयमा चुनाव नभए पनि अब कुनै न कुनै रुपमा चुनावहरु आउन लागेको बताए ।

उनले एमालेका लागि होइन, देशका लागि पनि एमालेले जनमतबाट एकल बहुमत ल्याउनुपर्ने भन्दै अब चुनावको तयारी तर्फ लाग्न आफ्ना कार्यकर्ताहरुलाई आह्वान गरे ।

लोकतन्त्रको रक्षा, संविधानको रक्षा र कार्यान्वनयका लागि एमालेले बहुमत ल्याउनुपर्ने ओलीको भनाइ थियो । विकासको लहर चलाउन, छिटै दिगो विकास लक्ष्य नौ वर्षभित्रै पूरा गर्नुपर्ने अवस्था रहेको पनि ओलीले बताए ।

एमाले अध्यक्ष ओलीले आफूले लिपुलेकदेखि लिम्पियाधुरासम्मको नक्सा बनाए पनि त्यो जमीन फिर्ता नभएको भन्दै अब संवादको माध्यामबाट ती जमीनहरु फिर्ता गर्ने दाबी गरे । उनले छिमेकी राष्ट्रहरुसँग आफूले पारस्परिक सम्बन्ध कायम गर्न चाहेको बताए ।

एमाले अध्यक्ष ओलीले आफूले देशलाई एकजुट बनाएर समस्या समाधान गर्ने बारम्बार दोहोर्याए ।