१२ मंसिर २०८१, बुधबार
प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक क्षेत्रलाई दोस्रो चरणको सुधार आवश्यक भएको बताएका छ्न ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले राजधानीमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोभिडपछि अबको पहिलो प्राथमिकता आर्थिक क्षेत्रको सुधार भएको बताए । उनले अर्थतन्त्रका लागी विदेशी लगानी भित्र्याउन पनि सहज कानूनी व्यवस्था बनाएको र मुलुकमा आर्थिक गतिविधिहरू बढ्दै गएको पनि बताए ।
उनले आगामी पाँच वर्ष हामीले विकासशीलमा जान तयारीको अवधि पाएको र यसलाई अधिक प्रयोग गरी आगामी १० वर्षभित्र मध्यम आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने १५औं योजनाको दीर्घकालीन लक्ष्य पूर्तिमा केन्द्रित हुनुपर्ने बताए ।
त्यस्तै विसं २१०० भित्र नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पुर्याउने दीर्घकालीन सोच पनि मुलुकले बनाएको छ । आज नेपाली नागरिकको प्रतिव्यक्ति आय १२ सय अमेरिकी डलरमात्रै छ, त्यसलाई कैयौं गुणा बढाउनुपर्ने पनि बताए । त्यसका लागि अर्थतन्त्रको गुणात्मक वृद्धि आवश्यक हुन्छ । त्यसमा सरकारको एकल प्रयासले मात्रै सम्भव हुँदैन । निजी क्षेत्र र अन्य सबै सरोकारवालाको संयुक्त प्रयासबाट मात्रै त्यो सम्भव हुने उनले बताए ।
यस काममा हामीलाई विदेशी विकास साझेदारहरूको सहयोग उत्तिकै जरूरी हुन्छ । कोभिड–१९ को दुस्प्रभावबाट अर्थतन्त्रमा निकै गहिरो प्रभाव परेको छ । विगत दुई वर्ष मुलुकको अर्थतन्त्रले निकै अप्ठ्यारो परिस्थिती सामना गर्नुपर्यो, आर्थिक वृद्धि न्यून भयो । तर, आउने दिनहरू सधैं कमजोर हुने छैनन्, सधैं अप्ठ्यारा हुने छैनन् । अहिले हामी थोरै अँध्यारोमा होऔंला तर उज्यालोले हामीलाई पर्खिरहेको छ–उृनले भने । कोभिड–१९ को महामारी नसकिए पनि हामी सामान्य अवस्थातिर आउँदैछौ । अब आर्थिक पुनरूत्थानलाई तीव्रताका साथ अघि बनाउन सरकार प्रतिबद्ध छ । मुलुकमा लगानीको वातावरण अझै सहज बनाउन र व्यवसायको लागत घटाउन सरकारले कुनै कसर बाँकी नराख्ने पनि प्रधानमन्त्री देउवाले बताए।
कार्यक्रमममा अर्थमन्त्री जनार्दन शर्माले चालू खर्च बढी र पुजीगत कम भएको अर्थत्रन्त्र सुधार गर्नुपर्ने बताए । शर्माले नितिगत रुपमा अर्थतन्त्र सुधार गर्नुपर्ने बताए । उनले यसका लागि बिकास ऐनको तयारी भएको बताए । अर्थ मन्त्रालयले अर्थतन्त्र सुधार गर्न विभिन्न तरिकाबाट आवश्यक पहल भइरहेको पनि बताए । उनले हामीसगै भएको साधन श्रोतको परिचालन गर्ने बताए । उनले नेपालीले नै बिजुली खपत बढाउने गरी काम गर्नुपर्ने पनि बताए ।