३० फाल्गुन २०८२, शनिबार
नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश २ बाहेक ६ वटा प्रदेशमा नेपाली कांग्रेसले नेतृत्व चयन गरेको छ । प्रदेश अधिवेशन अन्तर्गत ६ वटा प्रदेशमा शनिबार भएको मतदानको आज प्राप्त अन्तिम परिणाममा सभापति शेरबहादुर देउवा पक्षको वर्चश्व देखिएको छ । सबै प्रदेशमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
निर्वाचन भएका प्रदेशहरुमध्ये प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको सभापतिमा सभापति देउवा पक्ष विजयी भएको छ भने गण्डकी र लुम्बिनी प्रदेशमा वरिष्ठ नेता पौडेल पक्षका उम्मेदवार निर्वाचित भएका छन् ।


प्रदेश १ को कांग्रेस सभापतिमा वरिष्ठ नेता पौडेल पक्षका गुरुराज घिमिरेलाई २ मतले हराउँदै संस्थापन पक्षका उद्धव थापा विजयी भएका छन् । थापाले ८४४ मत प्राप्त गर्दा घिमिरेले ८४२ मत प्राप्त गरे ।
प्रदेश २ को अधिवेशन भने अन्योलमा परेको छ । गत विहीबार नै जनकपुरस्थित तिरहुतिया गाछीमा अधिवेशनको उदघाटन सत्र सम्पन्न भएपनि अगामी कार्यक्रम तय हुन नसक्दा अधिवेशन अनिश्चित बनेको हो । मतदाता नामावली प्राप्त नहुँदा प्रदेश अधिवेशन अन्यौलमा परेको कांग्रेस निर्वाचन समितिले जनाएको छ ।
बागमती प्रदेशको सभापतिमा संस्थापन पक्षका इन्द्र बानियाँ एकहजार ८५ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी पौडेल पक्षका जगदीश्वरनरसिंह केसीले ९२७ मत प्राप्त गरे । शनिबार भएको मतदानमा तीनमध्ये कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि आइतबार दोस्रो चरणको मतदान भएको थियो ।
उता, गण्डकी प्रदेशको सभापतिमा भने वरिष्ठ नेता पौडेल पक्षका शुक्रराज शर्मा निर्वाचित भएका छन् । संस्थापन पक्षका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई ८४ मतले हराउँदै शर्मा विजयी भएका हुन् । उनले ६१२ मत प्राप्त गर्दा जोशीले ५२८ मत ल्याए ।
यस्तै लुम्बिनी प्रदेशमा विजयी भएका अमरसिंह पुन पनि पौडेल पक्षकै हुन् । पुनले संस्थापन पक्षका भरतकुमार शाहलाई ८५ मत अन्तरले हराएका छन् । पुनले ८५२ मत ल्याएका थिए भने शाहको पक्षमा ७६७ मत खसेको थियो ।
उता, कर्णाली प्रदेशको सभापतिमा संस्थापन पक्षका ललितजंग शाही ४२२ मत ल्याएर विजयी भएका छन् । पौडेल पक्षका भूपेन्द्रजंग शाही १०५ मतले पराजित भए । उनले ३१७ मत मात्रै प्राप्त गरे ।
यसैगरी, सुदूरपश्चिम प्रदेशको सभापतिमा वीरबहादुर बलायर अत्यधिक मत ल्याएर निर्वाचित भएका छन् । खुल खसेको एकहजार तीन मतमध्ये उनले ६८८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नारायणदत्त मिश्रले २८० मत मात्रै प्राप्त गरे ।