राष्ट्रिय सभाको निर्वाचन कार्यक्रम सार्बजनिक

होमल्याण्ड खबर

२०७८ मंसिर २१ गते, मंगलवार १४:४१ मा प्रकाशित

 निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन कार्यक्रम सार्बजनिक गरेको छ ।  आयोगले राष्ट्रिय सभामा रिक्त हुने १९ सदस्य पदका लागि निर्वाचन कार्यक्रम सार्बजनिक गरेको हो । जस अनुसार पौष १ गतेदेखि १० गतेसम्म दल दर्ता गर्ने तालिका सार्बजनिक गरेको छ भने पौष १७ गते मतदाता नामावली सार्बजनिक हुने भएको आयोगले उल्लेख गरेको छ ।

त्यस्तै पौष २० गते उम्मेदवारको मनोनयन दर्ता गर्ने र माघ १२ गते विहान ९ बजेदेखि अपराहन्न ३ बजेसम्म तोकिएका मतदान केन्द्रहरुमा मतदान हुने आयोगले जनाएको छ ।

संघीय संसद् सचिवालयका अनुसार फागुन २० मा मनोनीत एक जना सदस्यसहित २० जना सांसदको पदावधि सकिन लागेको छ । जसको निर्वाचन माघ १६ गतेअघि सम्पन्न गर्नुपर्ने हुन्छ ।

सचिवालयका अनुसार अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट अगमप्रसाद बान्तवा राई, जीवन बुढा, महिला समूहबाट कविता बोगटी, उदया शर्मा पौडेल, तारादेवी भट्ट, नैनकला ओझा, शशिकला दाहाल, शान्तिकुमारी अधिकारी, कोमल वलीको म्याद सकिँदै छ ।

त्यस्तै दलित समूहबाट खिमकुमार विक, चक्रप्रसाद स्नेही, राम लखन चमारको पनि कार्यकाल सकिँदै छ । त्यस्तै अन्य समूहबाट पद रिक्त हुनेमा दृगनारायण पाण्डेय, ठगेन्द्रप्रकाश पुरी, दीनानाथ शर्मा, परशुराम मेघी गुरुङ, राधेश्याम अधिकारी, शेरबहादुर कुँवर, सुमनराज प्याकुरेल छन् ।

संघीय संसद् सचिवालयका अनुसार पदावधि सकिनेमा एमालेका ८, कांग्रेसका ३, एकीकृत समाजवादी र माओवादीका ४–४ र मनोनीत एक जना रहेका छन् ।

राष्ट्रिय सभामा मनोनीत तीन जनामध्ये रामनारायण बिडारीको पदावधि सकिँदै छ । प्रदेशगत रूपमा विजयी ५६ र राष्ट्रपतिबाट मनोनीत ३ सदस्यको पदावधिका लागि ०७५ असार ४ मा गोलाप्रथा गर्दा उनीहरूको कार्यकाल ४ वर्षमा परेको थियो ।

राष्ट्रिय सभाको पहिलो कार्यकाल एकतिहाइको २ वर्ष, अर्को एक तिहाइको ४ वर्ष र बाँकीको ६ वर्ष हुने संबैधानिक व्यवस्था रहेको छ । त्यसपछि निर्वाचित हुने सांसदको कार्यकाल ६ वर्ष हुन्छ । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा पालिकाका प्रमुख, उपप्रमुख र प्रदेश सांसद मतदाता हुने व्यवस्था रहेको छ ।