पौडेल समूहको बैठक चाक्सीबारीमा जारी, देउवा समूहले पदाधिकारी उम्मेदवार चयन गर्न सकेन

होमल्याण्ड खबर

२०७८ मंसिर २२ गते, बुधबार १६:४७ मा प्रकाशित

सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक चाक्सीबारीमा सुरु भएको छ । बुधबार बिहान बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएको इतर समूहको छलफल विना निष्कर्ष सकिएको थियो ।

नेता प्रकाशमान सिंहको निवासमा जारी बैठबकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, डा शेखर कोइराला, डा रामशरण महत, अर्जुननरसिंह केसी, महेश आचार्य, बलबहादुर केसीलगायतका नेताहरू सहभागी छन् । बैठकले बुधबारै सभापतिको साझा उम्मेदवार तय गर्ने नेताहरूले जानकारी दिएका छन् ।

इतर समूहबाट सभापतिमा पौडेल, सिंह र कोइरालाद्वय आकांक्षी छन् । तर महामन्त्री डा. कोइराालले वरिष्ठ नेता पौडेललाई आफ्नो समर्थन रहने मंगलबार बताएका थिए । सभापतिकै टुंगो नलागेकाले अन्य पदाधिकारीबारे पौडेल समूहमा छलफल नै भएको छैन ।

उता सभापति शेरबहादुर देउवा समूहले सभापतिमा देउवालाई अगाडि सार्ने निर्णय गरे पनि अन्य पदाधिकारीको उम्मेदवार टुंगो लगाउन सकेको छैन । बुधबार देउवाको निजी निवास बुढानिलकण्ठमा देउवा समूहको बैठक बसेको थियो । सो बैठकले देउवालाई सभापतिमा अगाडि सार्ने निर्णग गरे पनि पदाधिकारीबारे निर्णय गर्न सकेन ।

दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्रीका लागि दर्जनौँ नेताहरुले दाबी गरिरहेका छन् ।