९ मंसिर २०८१, आईतवार
सरकारले कलंकी–नागढुंगा, चाबहिल–जोरपाटी सडक आगामी भदौ १५ गतेभित्र कालोपत्रे गरिसक्ने भएको छ ।
पानी पर्दा हिलो र घाम लाग्दा धुलो उडेर स्थानीय बासिन्दा पीडित भएको चर्को गुनासो आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष निर्देशनमा नै ती सडक आगामी भदौ १५ गतेभित्र निर्माण सम्पन्न गर्न लागिएको हो ।
प्रधानमन्त्री ओलीले यही साउन १५ गते सरोकार भएका सबै मन्त्रालयका मन्त्री, सचिव र सम्बद्ध सबै संस्थाका पदाधिकारीलाई बोलाएर सडक मर्मतमा ध्यान दिन र तोकिएको समयभित्र सम्पन्न गर्न निर्देशन दिएका थिए ।
वर्षाका समयमा पानी परेर सवारी आवागमनमा समस्या भएको भन्दै स्थानीय बासिन्दाले तत्काल मर्मतमा ध्यान दिन आग्रह गरेपछि ती सडक कालोपत्र गर्ने र विभिन्न करिडोरका सडकको निर्माण तथा मर्मत सम्भारलाई उच्च प्राथमिकता दिइने भएको छ ।
काठमाडौँ प्रवेश गर्ने प्रमुख मार्गका रुपमा रहेको कलंकी–नागढुंगा सडकमा समेत उस्तै समस्या रहेको छ । स्थानीय बासिन्दाले समस्या समाधान नभएको र निर्माण व्यवसायीलेसमेत समयमै काम नगरेका कारण सो सडकखण्ड निर्माण शुरु भएको लामो समय भइसक्दासमेत सम्पन्न हुन सकेको छैन ।
प्रधानमन्त्रीले स्थानीय र यात्रुको चासोलाई सम्बोधन गर्दै सडक निर्माण तथा मर्मत सम्भारलाई विशेष ध्यान दिन निर्देशन दिएका हुन् ।
यस्तै काठमाडौँ उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी पुर्ने, मुख्य सडकमा सडक बत्तीको व्यवस्था गर्ने, सडकमा सडक संकेतको व्यवस्थासमेत गरिने भएको छ ।
कानूनी तथा प्रशासनिक झमेलाका अतिरिक्त वर्षाले काठमाडौँ उपत्यकको सडक निर्माण र विस्तारले तीव्रता पाउन नसकेको भए पनि नागरिकले भोग्नुपरेको समस्यालाई समाधान गर्न प्रधानमन्त्री आफैँले चासो व्यक्त गरेका हुन् ।
यस्तै खानेपानी मन्त्रालयले मेलम्ची खानेपानीका पाइपलाइन बिच्छ्याउने, पानी वितरण गर्नेलगायतका काम समयमै सम्पन्न गर्नसमेत निर्देशन दिइएको छ ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले जनतालाई तत्काल राहत दिने गरी कलंकी–नागढुंगा र चाबहिल–जोरपाटी सडकखण्डमा कम्तीमा पनि आठ मिटर सडक मर्मत गर्ने र घाम लागेलगत्तै कालोपत्र गर्ने गरी आवश्यक व्यवस्था मिलाइएको जानकारी दिए ।
सर्वोच्च अदालतको आदेशका कारण कतिपय स्थानमा सडक विस्तारमा समस्या आएको, कालोपत्र, गर्न, मर्मत सम्भारसमेत गर्न समस्या देखिएको छ । तीबाहेकका क्षेत्रमा भने तत्काल मर्मत सम्भार गर्न सडक विभाग र सम्बद्ध निर्माण व्यवसायीलाई आवश्यक निर्देशन गरिएको र केही दिनभित्रै कामसमेत शुरु हुने उनले बताए ।